Sunday 15 January 2023

यले तङ्वे/दोङ् बारेमा एउटा संक्षिप्त बहस

 
Author : Machindra Kumar Yakkha
नयाँ यले तङ्वे/यले दोङ् प्रत्येक माघे सन्क्रान्तिसंगै मनाउने चलन छ । माघे सन्क्रान्ति चाढ त परम्परानै हो |  यो नयाँ सम्वत पनि यसरीनै चलिरहेको छ । किरात सम्वत् पनि भनी सालबसाल मनाउदै हामीले मनाउन थालेको यो यले तङ्वे/यले दोङ् सम्बन्धमा धेरेथोर हामी सबैलाई थाहा छ । यो एक जेठो सम्वत हो, किरात राजा यलुङ/यलम्बर/यलम्बाको स्मृतिमा राखिएको मानिएको छ । तर कहिलेबाट भन्ने चाहि किटानी नभइसकेको अवश्था रहेछ । जेठो त जेठो कति जेठो ? जिज्ञासा हुनु आफ्नो ठाउँमा छ मनाउने कुरा आफ्नो ठाउँमा, मनाउँदै जाउँ, अध्ययन भएको छ, हुने पनि छ, एकदिन अझ राम्ररी टुंगो लाग्ला हो । यहाँ बेटुङ्गो छ, भन्न खोजेको भने होइन । इतिहास सधैँ यस्तै हुँदो रहेछ । बिधि–विज्ञानको कसीमा उत्रिन पर्ने रहेछ । 

 हाम्रो यो यले तङ्वे/यले दोङ् पनि किरात सम्बध्द संस्थाहरूबाट किरात यले सम्वत भनी मनाउने निर्णय पनि भएको छ । यले तङ्वे/यले दोङ् यतिनै पूर्ण छ, सरल र सुन्दर छ । यसमा थप बिशेषणको आबश्यकता देखिदैन । यसको शुरूआतको श्रेय श्री पुष्प थाम्सुहाङ र श्री जसहाङ मादेनलाई जान्छ । उहाँले २०३० सालमा आफ्नो हस्तलिखित पत्रिका श्रीजङ्गाको बर्ष १ अंक ७ (कार्तिक) मा किराती तङ्वे भनी प्रकाशित गर्नुभयो । यले तङ्वे ५०४९ भनी सन् १९८९/८० (वि.सं. २०४५/४६) मा श्री जसहाङ मादेनको संयोजनमा अखिल सिक्किम लिम्बू चुम्लुङको कैलेण्डर प्रकाशित भयो । अनि नेपालमा पनि किरात याक्थुङ चुम्लुङ (२०४८देखि), किरात राई यायोक्खा (२०५१/५२देखि) र विस्तारै सबैले प्रचलनमा ल्यायौँ, मनाउन थाल्यौँ । माघ १ गते नयाँ यले तङ्वे/यले दोङ् ५०८३ मान्ने सुरसारमा छौँ । नयाँ लिम्बूभाषामा कुसाङ यले तङवे, राई भाषाहरूमा नङ्वा यले दोङ, याक्खा भाषामा ओलाङा यले दोङ, सुनुवार समाजले नयाँ यले थोचे भनिन्छ कि ? न्वागी शब्दको न्वा संस्कृत(नवान्न)बाट आएको मानिए तापनि यसको अध्ययन हुन जरूरी छ, कतै यो (र न्वारान) प्राकृत शब्द, प्राचीन किरात शब्द पनि हुनसक्छ । नेवारीमा नयाँ साल/दिनको शुभकामना भनिँदा न्हु दँया भिन्तुना भनिन्छ ।

 मानिदै आएको कलिगत ४० बर्षको आधार गणना भएको सम्वत् ५०८३ त्यत्तिकै मानिआएका होइनौ । यो पनि एक ऐतिहासिक आधारमा नेपालको संक्षिप्त इतिहास (इतिहासकार प्रेम बहादुर माबोहाङ र भूपेन्द्रनाथ शर्मा ढुङ्गेल)मा उल्लिखित चाखलाग्दो(भरपर्दो) परिघट्नाको आधारमा हो । महाभारकालीन पात्रहरू एकलव्यका पनाति, जितेद्रष्टा(जितेइङ्वा) का नाति, सेङ्छेइङ्वाका छोरा यलम्बरलाई आफ्ना बाबुलाई दिएका पाटक पतञ्जली (हालको पट्ना) राज्यको राजतिलक परिक्षितका छोरा जनमेजयले नदिएकाले नेपाल खाल्डोमा राज्य हानी राज्य शुरू गरे । यस सम्वत यिनैको, यसैको राज्यकालको स्मृतिमा मानेका मानिन्छ । यिनका पिता सेङ्छेइङ्वालाई परिक्षितको रक्षार्थ चक्रवर्ति सम्राट युधिष्ठिरले राज्य दिई मित्र जितेद्रष्टा(महाभारत युध्दमा लडी बाँचेका)सँग मागी लगेका थिए ।

Photo Source: Google Image

 कलियुग कहिलेबाट शुरू भयो ? पाण्डवका स्वर्गयात्रा (परिक्षितको राज्यरोहण) वा श्रीकृष्णको स्वर्गरोहण वा महाभारत युध्दको अन्त ? कलियुग ईशा पूर्व ३१०२ बर्ष कि, २४४९ बर्ष, कि १४०० बर्ष ? यी सबमा बिभिन्न मत रहेछन् । त्यसरी यले तङ्वेमा पनि बिबिधता गणना आएको हो । प्राज्ञ श्री बैरागी काइँलाज्यूको संयोजकत्वमा गठीत किरात सम्वत अध्ययन समन्वय समितिबाट प्रकशित किरात सम्वत अध्ययन अभिलेख (सन् २०१०) अनुसार ईशा पूर्व १८७८ बर्ष ८ महिना अर्थात यससालको यले तङ्वे ३९०१ हुनआउँछ । यो पनि प्रचलित कालगणना बिधिबाट भएको हो । मालीगाउँमा पाइएको जयवर्मा(वर्मावंशको पहिलो राजा)को सम्वत शाके १०७ उल्लिखित (सन् १८५) प्रस्तर मूर्तिलाई आधार मानी, यसकाललाई किरातशासनकालको अन्त भइसकेको मानी, सबै राजाहरूका कालगणना गरी निकालिएको बताइएको छ । यसैलाई मानेर जाने भनी किरात सम्बध्द सबै संस्थाहरूबाट पनि सहमति जनाइएका जानकारी अभिलेखमा पाउँछौँ । पक्का तिथिमिति सहितका प्राचीन इतिहास पाउन कठीन मानिन्छ । तर मानिआएकोले मानि रहेकाछौँ त्यही जेठो सम्वतको ५०८३ नै । अध्ययन अनुसन्धान हुने कुरा भइरहनेछ, मान्ने कार्य मनाउने कार्य भने चलिरहनेछ भनी मान्नुपर्ने हुन्छ ।

 कलियुग, कलिगत ४०, आर्यघाटको सत्ययुगकै कलिको मूर्ति (२०२२ सालमा उक बृध्द किरातले खनी निकालेका– डा गोविन्द टण्डन, यलम्बरको मूर्ति मानेका–योगी नरहरिनाथ, धरणीधर कोइराला) मानी, आदि इत्यादि किरात राज यलम्बरसँग जोडिएकाले पनि बिक्रम सुब्बाको अनुसार कलिको प्रतिनिधिको रूपमा राजा यलम्बरलाई कलिकालको ऐतिहासिक कालखणडको स्मारक स्तम्भकै रूपमा उभ्याए ठीक हुनेछ । हामीले ती आर्यघाटमा अवस्थित मूर्तिलाई पनि सम्झने बेला भयो, यो नयाँ यले सम्वत् सँगसँगै ।

***

स्रोतःकिरात सम्वत अध्ययन अभिलेख, किरात येले सम्वतको काल निर्धारणबारे एक छलपफल (बिक्रम सुब्बा), The Ancient History of India (HC Raychaudhari), नेपालको संक्षिप्त इतिहास (माबोहाङ र ढुङ्गेल) र अन्य ।

Labels: ,

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home