नियात्रा: थकित पैताला टेकेर
![]() |
Author: लीलाराज दाहाल |
“हैन, यो दर्के झरीमा त नगए नि हुन्न पदयात्रामा तिर” श्रीमतीको प्रेमिल कचकच थामिएको थिएन । बिहानको छ बजेर तीस मिनेट भैसकेकोथियो । झमझम पानी परिरहेकै थियो बाहिर ।“जान त जान्छु ! आज शनिबार हो । एकछिनमा पानी रहन्छ होला !” यति भनेर हतारहतार झोला ठीक पार्न थालें ।
२०७६ साल श्रावण चार गते बिहान सात तीस बजेसम्म बल्खुमा उपस्थित भैसक्नु भन्ने स्नेही हुकुम छ संयोजक शीतल गिरीको ! कोठामै सातबज्न लागेकाले पानी रहने आशा नगरी झोला र छाता टिपेर हतारहतार बाहिरिन्छु कोठाबाट ! बल्खु चोक पुग्दा संयोजक शीतल गिरी र डा. धनप्रसाद सर बाहेक अन्य पदयात्रीको अनुपस्थितिले आफु छिटो दगुरेकोमा चिनी बिनाको सर्बत जस्तो खल्लो भयो मन ! अव हामी माझ अन्यपदयात्रीहरूको प्रतीक्षा गर्नु बाहेक अरू विकल्प पनि थिएन ! पदयात्रीहरू कोही कताबाट, कोही कताबाट थपिने क्रम जारी थियो । लेखकएबमं सम्पादक नवराज रिजाल, गीतकार/संगीतकार नारायणप्रसाद भण्डारी जनकपुरी, साहित्यकार दम्पती परशुराम पराशर शारदा पराजुली, घनश्याम प्रसाईं र बशन्त रिजालको उपस्थितिले आजको पदयात्राको इज्जत जोगिने अनुमानकासाथ पदयात्रा टोली बल्खुबाट प्रस्थान गरेको थियो !
कुमारी क्लवबाट बालसाहित्यकार प्रा.डा. ध्रुव घिमिरे र शुन्दरीघाटबाट मन्दिरा मधुश्री, शान्ति सापकोटा र निशा के.सी.को टोली आएरमिसिएपछि हाम्रो टोली चोभारतिर लाग्यो । बल्खु–दक्षिणकाली सडकखण्डको टीयूगेट पार गरेपछि पुरै सडक अधिनस्थ गरी, पदयात्रीहरू लंगमार्च गर्दै अघि बढिरहेका थियौं । हिंडाइको गति मापन गर्दै पदयात्री शारदाको ओठ खुल्यो, “ उकालो हिंड्न त जति पनि सक्छु तर ओरालोमा गाह्रो हुन्छ कि !” “ गाह्रो भए बोक्नलाई परशु दाजु हुनुहुन्छ नि ! किन आत्तिएको सिस” मन्दिरा मधुश्रीले यति भन्दा एकपटकहाँसोको लहर फैलियो । बोल्न को भन्दा को कम ! हिंडेर मात्रै हो र बाटो काटिने ! चोभारगेटबाट आदिनाथतर्फ उक्लंदा कोही फोटो खिच्न त कोही बनस्पति र पर्यावरण अवलोकनमा ब्यस्त रहे । आदिनाथको आधा उकालो पार हुनलाग्दा पो लघुकथाकार एवं पत्रकार डिल्लीरमणसुबेदी झुल्किए । बीच बाटोमा स्वागत गर्ने उनको यस्तो शैली साँच्चै तारिफयोग्य थियो ।
हाम्रो लक्ष्य भनेको न त फोटो खिच्नु मात्रै हो न त खुरूखुरू हिंड्नु मात्रै, बरू यी सबै कुराका अतिरिक्त जनजीवन र संस्कृतिको अध्ययन, अवलोकन मुख्य कुरा हो । केही बेरमै हामी सल्लाघारी बिचैबिच उक्लिँदै आदिनाथको मन्दिर परिसरमा पुग्यौं । मन्दिरपूजाको बिरोध गरे पनिमन्दिर पुगेपछि कसैले घण्ट बजाएको, कसैले पुजारीबाट टीका थापेको त कसैले मूर्तीमा शीर राखेको दृश्य भने रमाइलो थियो ! “आजकोबारेमा तपाइले लेख्नु पर्ने भएकोले यस मन्दिरको संस्कृति र पुरातात्विक महत्वको बारेमा जानकारी लिनुहोला” भन्दै मतिर फर्केर संयोजकशीतल गिरीले अरू थपे “आदिनाथ भनेका गोरखनाथका पनि गुरू हुन् । रोगबाट जोगिन र भाकल पुरा गर्न यस मन्दिरमा भाँडाकुँडा चढाउने चलन छ ।” हामीलाइ न त भाकल पुरा गर्नु थियो न त केही माग्नु नै थियो । यस्ता कुरामा विश्वास पनि थिएन । मन्दिर अवलोकन र फोटोखिच्ने कार्यसम्पन्न गरी हामी छिटै नै बाहिरियौं ।
हामी मन्दिरको खोजीमा नभए पनि फेरि बाटोमा बैष्णोदेबीको मन्दिर आइपुग्यो । मन्दिरको छेउमा रहेको रूख, जुन रूखको बिरूवा जंगबहादुरराणाले बेलायतबाट ल्याएर रोपेको भन्ने गरिन्थ्यो, बाँदर झुक्किने रूखका रूपमा प्रसिद्द थियो । चारैतिरबाट घुमीघुमी बाँदर झुक्याउने ?खकोअवलोकन गरेपछि साथीहरूत्यसैको फेदमा केहीबेर सेल्फीको आनन्दमा रमाए । केही पदयात्री भने अलि तल रहेको मसानघाटको अवलोकनार्थ जाँदै थिए । केही थाकेकी जस्ती देखिएकी मुक्तककार निशा के.सी. भन्दै थिइन्, “लौ तपाईंहरूनै जानुस्, हेर्नुस् ! आफ्नो त त्यता जाने बेला भएको छैन ! यतै बसिरहन्छु !” उनको भनाइ सुनेर हामी निकैबेर हाँसिरह्यौं । उनको ठट्टाले गहन अर्थ बोकेको थियो ।मसानघाट हेरेर पदयात्रीहरूफर्केपछि संयोजक एवं पुरातात्विक अन्वेषक शीतल गिरीले भने,“सार्वजनिक स्थानमा मानव अतिक्रमणले पुरातात्विक सम्पदाहरू नास हुने क्रममा छन् । त्यसको ज्वलन्त उदाहरण यो आर्यघाट पनि हो । यो अहिले निकै खुम्चिएको छ !”
त्यहाँबाट हामी अघि बढेका थियौं करीव नौ बजेतिर ! भाजंगल, पाँगा हुदै हाम्रो यात्रा दुधपोखरीतिर सोझियो । खेतको फाँट नियाल्दै हिंड्दापर पर देखिने धानको हरियालीमा रमायो मन ! धानखेतका गरालाई टुक्राटुक्रामा विभक्त गरेर घंडेरी बनाएको देखेर नवराज रिजालको मनमाबिभिन्न कुरा खेल्न थाले । उनले सोचमग्न भएर भने, “लु हेर लीला भाइ ! धान फल्ने ठाउँमा सिमेन्टका पिल्लर फल्न थालेपछि कृषिमा कसरी आत्मनिर्भर हुन्छ देश ?” बास्तवमा कुरा सत्य थियो । अलि पर पुग्दा ब्यबसायिक तरकारी खेती गरेको देखेपछि मात्रै उनको उदास मन प्रसन्नभएको थियो । तरकारी बारीमा फलेका कलिला काँक्रामा एनबी जनकपुरीका आँखा अड्किए ! उनी तरकारी टिप्दै गरेकी महिलातिर फर्केर कराए, “काँक्रा कसरी बेच्ने हो साहुनी ?” सय रूपैंयामा पांचवटा कलिला काँक्रा लिन सफल भएका जनकपुरी दाइ भित्रैदेखि प्रसन्न देखिएका थिए । उनीबाट उपहार स्वरूप प्राप्त काँक्राले तिर्खाएको आंत केही रसिलो भएको थियो मेरो पनि ! अलि अगाडि अगाडि हिंडेका पदयात्रीहरू त बाटामा पर्ने पसलमा बसेर फेन्टाको चिसोमा रमाउंदै रहेछन् ! त्यहाँबाट खेतको आलीआली हिंडेर हामी पांचपोखरी पनि भनिने दुधपोखरीमा पुग्यौं । अवलोकन ग¥यौ । चारैतिर हेर्यौ । ढुंगेधाराको प्रयोग सम्बन्धमा पालना गर्नु पर्ने नियमहरू उल्लेखित सूचना पाटीमा सबैका आँखाहरू अल्झिए केहीबेर ! सूचना पाटीमा बास्तविक कुरा लेखिएका भए पनि हाम्रा आँखाहरूले अश्लिल अर्थ लगाइरहेका थिए !
अझ भक्त राई पनि भएको भए उनका आँखाले छुट्टै अर्थ लगाउँथे भन्ने सोचेर म केहीबेर भित्रैदेखि मुस्कुराएँ ! धारा परिसरमा कपडा धुनलागेका नवयौवनाहरूसंग त्यहाँको बस्तुस्थिति बुझ्नका लागि पदयात्री मन्दिरा, शान्ति र निशा अन्तर्वार्ता लिन तयार पत्रकार झैं झुम्मिएका थिए! धारामा नुहाइरहेका पुरूषहरूप्रति लक्षित सूचनाबाट आँखा हटाएर वरिपरिको पर्यावरण नियाल्दा ढुंगेधाराको छेउमा शालीन्हसमुख नियात्राकार, संस्मरणकार अच्युत खनाल भेटिनु भयो ! उहाँसंग केहीबेर बातचित भए । उहाँ उसै भेटिनु भएको भने होइन । शायद नवराज रिजालको जनाउ थियो उहाँलाई । हाम्रो यात्रामा उहाँले निकैबेर साथ दिनुभएको थियो । हामी त्यहाँबाट मत्सेनारायण तर्फ बढ्यौं ।बाटोमा भोजनको लागि उपयुक्त स्थानको खोजी पनि गर्दै थियौं । चुन्देबी मन्दिर परिसरलाई भोजनालय मानेर पेटपूजा गर्दा मध्यान्नभैसकेको थियो । आपसमा खानेकुरा बाँडेर खाँदाको आनन्दले शरीरको आलस्यता पुरै दूर भैसकेको थियो ! शीतल पवनको स्पर्शले थकितज्यानमा नयाँ उमंग भरियो! त्यसमाथि भोको पेटमा परेको अन्नको उर्जाले सबैको अनुहार सुर्योदयपछिको क्षितिज जस्तो उज्यालो देखिएको थियो ! केहीबेर सुस्ताएपछि त्यहाँबाट अघि बढेको हाम्रो टोली मत्स्यनारायणको मन्दिरमा पुगेर अडियो । शिकार अगाडि पुगेको शिकारीले हतियार ठिक्क पारे झैं सबैले आ-आफ्ना मोबाइल झिकेर क्यामेरा ठिक्क पारे फोटो खिच्नलाई ! फोटो खिचेर फेसबुकमाराख्ने चलन हाम्रोजीवनको अभिन्न अंग भैसेकेको छ अचेल !
“आखिर नयाँ ठाउँमा पुगेको प्रमाण भनेकै फोटो त हो !” लघुकथाकार डिल्लीरमणको निष्कर्ष यस्तै थियो ! वरिपरिको वातावरणमा रमाउंदैथिए सबै ! मेरो मनमा भने एक्कासी एउटा हाइकु रचनाको बिजारोपण भयो !
नयाँ नेपाल
मन्दिर घुमी पूजा
भौतिकवादी !
यतिखेरै पानी दर्कन थाल्यो ! झोलाहरूबाट छाता निस्किए ! त्यहाँबाट हामी अघि बढ्यौं । अव हाम्रो अन्तिम गन्तव्य भनेको मातातीर्थ ! लामालामा पाइला गरेका छौं। मुक्तककार निशाले रेनकोट लगाएपछि कसले चिन्ने ! मन्दिरा र शान्ति आफ्नै तालमा गफिंदै हिंडिरहेका थिए ।नवराज रिजाल, धनप्रसाद र म पनि चुप लागेका थिएनौं ।
श्रीमतीले ओढेको छाता आधा आफुतिर ढल्काएका पति परशुरामलाई कवि शारदा भन्दै थिइन, “आफ्नो छाता चाहीं कहिलेलाई साँच्नुभएको हजुरले?” परशुराम शारदा बीचको प्रेमिल ठट्टा मस्करीले यात्रालाई अझै रोचक बनाइरहेको थियो । मलाई हिंड्न गाह्रोभैरहे पनि मातातीर्थ आइपुग्न लागेको सूचनाले खुसीको लहर छाएको थियो मेरो अनुहारभरि ! गोडाहरू एकछिन सुस्ताउने रहरमा थिए ! सबैभन्दा जेष्ठ शीतल गिरी नवयुवक झैं ठमठम हिंड्दै थिए । घनश्याम, ध्रुब, बशन्त, नवराजहरू अझै बीशौं कोशको दूरी नाप्न सक्ने उर्जा लिएर अघि बढ्दै थिए ! म पो निकै गलेको थिएँ यो पटक ! मातातीर्थ परिसरमा पुगेपछि पो पदयात्रीहरू खुसीले भरिंदै माताको मूर्तीवरिपरि झुम्मिए ! मातातीर्थ मन्दिरपरिसरमै साहित्यिक कार्यक्रम गर्ने योजना थियो ! बस्ने ठाउँको अभावले केहीबेर अलमल भएपनि अन्तत आफुले बोकेका पत्रिकाहरूलाई ओछ्याएपछि कार्यक्रम स्थल तयार भएको थियो ! डिल्लीरमणको उद्घोषणमा साहित्यिक कार्यक्रम शुरू भयो । मातातीर्थको प्रांगण भएकालेधेरै सर्जकहरूले आफ्ना सिर्जनामा आमालाई सम्झिए ! कार्यक्रम रोचक मात्रै भएन, हरेक हिसाबले सम्झन लायक पनि भयो ! घनश्याम प्रसाईंको गीतमाथि ध्रुब घिमिरेको टिप्पणी उल्लेखनीय थियो । वाचक मात्रै भएनौं, स्रोता पनि भएका थियौं ।
करीव दुई तीस भन्दा बढी भैसकेको थियो समय ! आजको पदयात्राको घोषित अन्तिमबिन्दु पनि यही थियो । मातातीर्थबाटै बस चढेर फर्कनेकि थानकोट झर्ने भन्ने बिषयले टड्कारो समस्याका रूपमा केहीबेर गिजल्यो हामीहरूलाई! धेरै सदस्यहरूको राय थानकोट झर्ने भन्ने रहेकालेफेरि यात्रा बढायौं ! तर थकित पैतालाहरूभने मातातीर्थबाटै बस चढ्ने अडानमा एकमत थिए !
***
बागमती ११, कर्मैया, सर्लाही
Labels: Nepali
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home