Sunday 5 February 2023

जलवायु परिवर्तनको विषयमा मानवशास्त्रीको संलग्नता किन ?

Author: प्रमेश पोखरेल
विश्वका ग्रामीण तथा शहरी क्षेत्रमा वसोवास गर्ने निम्न आय भएका किसान, श्रमिक, आदिवासी तथा जनजाति लगायतका समूदाय जलवायु परिवर्तनको चपेटामा परेको समयमा मानवशास्त्रको ध्यान पनि त्यस तर्फ आकर्षित हुनु स्वभाविकै हो । मानवशास्त्रीहरू जुनसुकै क्षेत्र र समूदायमा पुग्दा पनि त्यहाँका स्थानीय जनताद्वारा जलवायु र मौसम सम्बन्धि छलफल र गुनासाहरू सुन्नुपर्ने क्रम तिव्र हुदै जादा जलवायु परिवर्तनबारे मानवशास्त्रीय दृष्टिकोण के हो ? र यसमा मानवशास्त्री संलग्नहुनुहुन्छ या हुनुहुदैन भन्ने सम्वन्धमा विभिन्न विचारहरू अगाडी आएका छन् । अहिले मानवशास्त्र विषय भर्खरै अलग विषयको रुपमा नेपालमा पठनपाठन सुरुभई फरक पहिचान बनाउदै गरेको परिपेक्षमा जलवायु परिवर्तन जस्ता उदाउँदा समस्याबारे यस विषयको दृष्टिकोण र यिनीहरुको भुमिकाको विष्लेषण सांदर्भिक रहला ।

जलवायु परिवर्तनको विषयमा मानवशास्त्रीको संलग्नता र मानवशास्त्रीय ज्ञानको आवश्यकता पुष्टि गर्न केहि तर्कहरू अघि सारिएका छन् । यस मध्ये पहिलो तर्क के छ भने मानवशास्त्रको केन्द्रविन्दु संस्कृति र मानव व्यवहार भएकोले जलवायु परिवर्तनका कारण समाज, संस्कृति, मानवीय अभ्यास र व्यवहार जीवन पद्धति र पर्यावरणीय सम्बन्धमा परेका प्रभावहरुको मानवशास्त्रीय विष्लेषण महत्वपुर्ण रहन्छ । जलवायु परिवर्तनको विषयमा मानवशास्त्रीय संलग्नताबारेको दोस्रो तर्क के छ भने, मानवशास्त्रको केन्द्र पिछडिएका जाती, समूदाय, आदिवासि, जनजाती, उत्पीडित वर्ग र समूदाय हुन् । यी समूदाय प्रकृतिमा बढी निर्भर रहनेहुँदा पारिस्थितिक प्रणालीका महत्वपुर्ण अंग हुन् र पारिस्थितिक प्रणालीको सन्तुलनमा महत्वपुर्ण भुमिका खेल्दछन् । तर तिनै समूदाय आज सबैभन्दा बढि जलवायु परिवर्तनको चपेटामा परेका छन् । त्यसैले पनि मानवशास्त्रीय विधिहरू कार्यक्षेत्र अध्ययन, प्रजातीय अध्ययन, वैयक्तिक अध्ययन गर्ने क्रममा मानवशास्त्रीहरूले सवैभन्दा बढी आफ्नो कार्यक्षेत्रका समूदायले झेलीरहेको ज्वलन्त सवालहरुसँग प्रत्यक्ष जुध्नुपरेको छ र त्यसवारे केहि बोल्नै पर्छ । अझ ती समूदायका सवालको जवाफ मानवशास्त्रीय हुनु आवश्यक छ । त्यसैले पनि जलवायु परिवर्तनवारे मानवशास्त्रीय दृष्टिकोण र यसमा मानवशास्त्रीको भुमीकावारे स्पष्ट हुनु आवश्यक छ ।

जलवायु परिवर्तनका सवालमा मानवशास्त्रीय संलग्नता आवश्यक रहेको अर्को तर्क के हो भने जलवायु परिवर्तको कारण र समाधान मानवीय व्यवहारसंग सम्बन्धित छ । सामूहिक र सामूदायिक व्यवहारको अध्ययन गर्ने विषय भएकोले पनि जलवायु परिवर्तनसंगको अनुकुलन र हरितगृह ग्याँसको उत्सर्जन कम गर्ने कार्यमा सबैभन्दा महत्वपुर्ण संलग्नता मानवशास्त्रीको रहन्छ । जलवायु परिवर्तनका विभिन्न कारण मध्ये उपभोक्ताको संस्कृति र विलासिताका व्यवहार पनि एक हो । किनभने यिनै व्यवहारका कारण हुने हरितगृह ग्यासको बढी उत्सर्जन पनि जलवायु परिवर्तनको समस्या सृजन गर्ने कारण हो । त्यसैले यसको विश्लेषणमा मानवशास्त्रीय ज्ञानको आवश्यकता पर्दछ । विकसीत देशका नागरिक तथा उपभोक्ताको संस्कृति र विलासिताका व्यवहारका कारण हुने प्राकृतिक स्रोतको विनाश र हरितगृह ग्यासको उत्सर्जनले गर्दा पनि जलवायु परिवर्तन भएको तर्क छ । जलबायु परिवर्तन मानवीय क्रियाकलापको कारण भएको हो र सबै प्रकारले मानिसले यसलाई रोक्न सक्छन् । जसको लागि मानवीय व्यवहार र सोचाइमा परिवर्तन आवश्यक पर्दछ । मानवीय व्यवहार र सोचाइको व्यवस्थित र बैज्ञानिक अध्ययनको एकमात्र विषय भएकोले पनि जलवायु परिवर्तन अनुकुलन र हरितगृह ग्यास उत्सर्जन कमि गर्नमा मानवशास्त्रीय ज्ञानको आवश्यकता पर्नेछ । त्यसैगरी जलवायु परिवर्तन अनुकुलन प्रक्रियामा स्थानीय ज्ञान, सिप र व्यवहार महत्वपुर्ण मानिन्छ । त्यसैले समूदाय सापेक्ष र जन केन्द्रित स्थानीय अनुकुलनका अभ्यासको खोजी, अध्ययन र अनुसन्धानमा मानवशास्त्रको महत्वपुर्ण देन रहन्छ ।

जलवायु परिवर्तन नयाँ विषय हो र यसमा अध्ययन अनुसन्धान र दृष्टिकोणहरू विकास हुने क्रममा छन् । जलवायु परिवर्तनसम्बन्धि अझ बृहत र स्थानीय स्तरका धेरै अध्ययन र अनुसन्धानको आवश्यकता छ । यस सम्वन्धि अझ बृहत अध्ययन अनुसन्धान गरी यसका प्रभाव, अनुकुलन र यस सम्वन्धि दृष्टिकोणहरू विकास गर्नका लागि पनि यस विषयमा मानशास्त्रीय संलग्नता अर्थ पुर्ण रहन्छ । अहिलेको जलवायु परिवर्तन मानवीय कारण भए पनि मानव उत्पत्ति र विकासको क्रममा यस्ता परिवर्तनहरू धेरै पटक भएका छन् । मानव उत्पत्ति र विकासको संदर्भमा यी परिवर्तनलाई वरफयुग भनिन्छ । विभिन्न वरफयुग र अन्तर वरफयुगको अध्ययन र त्यसको मानव विकासमा परेको प्रभाव अध्ययन अनुसन्धानबाट जसरी मानवशास्त्रमा मानव उत्पति र विकासलाई वुझ्न सहयोग पुग्दछ ठिक त्यसैगरी अहिलेको जलवायु परिवर्तनलाई व्याख्या विश्लेषण गर्न साथै अनुकुलनको प्रकृयामा आवश्यक प्राग ऐतिहासिक अध्ययनका निम्ति पनि मानवशास्त्रको महत्वपुर्ण भुमिका हुन्छ । अझ महत्वपुर्ण तर्क के भने मानवशास्त्र विषय र जलवायु परिवर्तन दुवैको इतिहाँसको प्रारम्भ र विकासक्रम एक आपसमा अन्तरसम्बन्धित छ । त्यसैले शक्तिशाली वा विकसीत भनीएका देशले कम विकसीत देशका श्रोतसाधनहरूमाथि एकाधिकार कायम गर्ने तथा ती श्रोतको मनलागि दोहन गर्ने क्रममा जलवायु परिवर्तनको समस्या उब्जिएझै त्यसै समयमा शक्तिशाली वा विकसीत भनीएका देशले कम विकसीत देशका समाज, संस्कृति र राष्ट्रलाई उपनिवेश वनाउने र ती समूदायको अध्ययन गर्ने क्रममा मानवशास्त्रको जन्म भयो । त्यसैले सामा्रज्यवाद, विस्तारवाद, औपनिवेशीकरण र पूँजीवाद जस्ता राजनीतिक विषयको ऐतिहासिक व्याख्याले मात्र जलवायु परिवर्तनलाई बुझ्न सहयोग गर्दछ । 

अझ भन्ने हो भने दुवै विषय विश्व राजनीतिको अध्ययन विना संभव छैन र यसको विष्लेषणमा मानवशास्त्रको भुमिका रहन्छ । जलवायु परिवर्तन न्याय र अधिकारको सवाल पनि हो विश्वका ति जनता जो यो परिवर्तनको निम्ति जिम्मेवार नै छैनन् वा सबै भन्दा कम जिम्मेवार छन् ती जनता नै यो प्रक्रियाबाट सबैभन्दा बढि प्रताडित छन् । ती समूदाय मानवशास्त्रका केन्द्र हुन् । त्यसैले पनि न्याय, समानता, र सिमान्तीकृत समूदायको अधिकार र उत्थानकालागि पनि मानवशास्त्रीय संलग्नता महत्वपुर्ण छ । त्यसैले जलवायु परिवर्तन सम्बन्धि जिज्ञासा समाधान गर्न र स्थानीयस्तरका समस्या निराकरण गर्न मानवशास्त्रको जलवायु परिवर्तन सम्बन्धि संलग्नता महत्वपुर्ण भै रहेको छ । त्यति मात्र होइन अझ जलवायु परिवर्तन, अनुकुलन र क्षमता अभिबृद्धिको क्रममा स्थानीय, दिगो र जनस्तरीय प्रतिक्रियाहरुको लागि मावशास्त्रीय संज्ञानको महत्व रहन्छ । जलवायुसंगै संस्कृति र रहनसहनमा आएको परिवर्तन र यसका प्रभाव पनि मानवशास्त्रीका लागि नैतिक र व्यवसायिक सवालको रुपमा देखिएका छन् । राजनीतिज्ञ, मानवशास्त्री मात्र होइन अहिले जलवायु परिवर्तन सबै क्षेत्र विषय र सम्प्रदायको बहस र छलफलको विषय बनेको छ त्यसैले अझ मानवशास्त्रलाई व्यवहारिक वनाउने, सार्वजनिक हितका प्रयोग गर्ने, अधिकारकर्मीको दृष्टिले हेर्दा वा मध्यस्थता वा सहजकर्ताको भुमिका निर्वाह गर्न पनि, यस सम्वन्धि बहसमा मानवशास्त्रीय जिम्मेवारी र यी प्रश्नसंग सम्बन्धि वृहत सैद्धान्तिक अवधारणाको आवश्यकता देखिन्छ ।

जलबायु परिवर्तनले हामीलाई सिकाउँदे छ कि संसारमा मानवीय आवश्यकताको नाममा गरिएको वस्तु तथा सेवा उत्पादनको प्रभुत्वशाली प्रकृयामा खरावी छ । नाफाको खोजी र व्यापारमा टिकीरहने महत्वकांक्षाले हाम्रो पृथ्वी र जीवनलाई संकटमा पारेको छ । आज शक्तिमा भएका व्यक्तिको अनुत्तरदायित्व र स्वार्थका कारणले संसारका मानिसहरू पिडित छन् । किनकी हरितगृहग्यासको उत्र्सजनमा यिनीहरुनै प्रमुख रुपमा दोषि छन् । त्यसैले जलबायु परिवर्तनले हामीलाइ व्यक्तिगत र सामूहिक उत्तरदायित्वको बोध गराएको छ । यो तितो यथार्थ हो कि हामी व्यक्ति नभई जाती हौ, विभिन्न आर्थिक वर्गमा बाडिएका, वातावरणबाट अलग्यिका जाति । त्यसैले पृथ्वी विगार्ने जो भएपनि भोग्ने हामी सबै हौं । जलबायु परिवर्तन प्रकृतिको यो चुनौति हो कि मानव प्रजाती पृथ्वीको स्पष्ट संरक्षक हुन असफल भयो त्यसैले उसले आफ्नो कार्य र गल्तीको असर सामूहिक रुपमा भोग्ने छ, हामी सबैले भोग्ने छौं । समयमै बानी व्यवहार सच्याएनौं भने । मानवशास्त्र मानीसको व्यवहार र संस्कृतिको विज्ञान हो । जलवायु परिवर्तनको असर हरेक क्षेत्र र समूदायमा परेको छ त्यसैले यसको समाधान बहुआयामिक र समग्रताको दृष्टिकोणबाट मात्र सम्भव छ । वातावरण विज्ञान र अन्य सामाजिक विज्ञान भन्दा बहुआयामिक, सामान्य र समग्रताका विधि प्रयोग गर्ने एकमात्र विषय मानवशास्त्र हो र यस संदर्भमा यो विषयको भुमिका समन्वयकारी र मार्गनिर्देशक रहन्छ । त्यसैले पनि मानशास्त्रीय संलग्नता आवश्यक छ ।

जलबायु परिवर्तन मानवीय क्रियाकलापको कारण भएको हो । त्यसैले सबै प्रकारले मानिसले यसलाई रोक्न सक्छन् । तर जलबायु परिवर्तन रोक्न व्यवस्थित र बैज्ञानिक परिवर्तनको आवश्यकता पर्नेछ । जलवायु परिवर्तन सम्बन्धि भएका छब्बीसवटा विश्वसम्मेलनले विषयवस्तुमा ध्यानाकर्षण गरेता पनि समस्याको दीर्घकालीन समाधान गर्ने कुरा भने अझै अपुर्ण रहने सम्भावना छ । हाम्रो देशमा पनि समयमानै सचेत भै उपयुक्त कदम चाल्नु आवश्यक छ । नत्र एउटा ठुलो प्राकृतिक प्रकोप र आर्थिक संकटको चपेटामा हामी पर्न सक्छौं । त्यसको लागि विकसीत देशले हरितगृह ग्याँसहरूको निस्कासनमा जोडदार कमी ल्याउनु पर्नेछ । वस्तु तथा सेवाको उत्पादनको पद्दतिमा ठुलो परिवर्तन ल्याउनु पर्नेछ । हामी जलबायु परिवर्तनलाई रोक्न सक्छौं तर हामीले भर्खरै त्यसतर्फ लाग्न शुरु गर्नुपर्दछ ।

***

(पोखरेल त्रिवि अन्र्तगत मानवशास्त्र प्राध्यापन गर्नुहुन्छ)


Labels: ,

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home