Thursday 26 January 2023

जातीय असमानताबारेका विभिन्न दृष्टिकोणहरु

  • विश्वव्यापी असमानताका विविध आयामहरु

Author: Pramesh Pokharel
अहिलेको विश्वमा संसारको लगभग सवै समाजमा अन्याय, अत्याचार, शोषण, विभेद र असमानता व्याप्त छ । लगभग सवै समाजमा वर्गहरु र वर्गका आधारमा असमानता र विभेदहरु रहेका छन् । मानिसहरुलाई विभाजन गर्ने विभिन्न प्रकारका धार्मिक, राजनीतिक, आर्थिक, सामाजिक आदी प्रणालीका कारणले समाजका व्यक्तिहरुको सामाजिक स्थान, हैसियत, पद, प्रतिष्ठा समान हुदैन । माक्र्सवादीहरु व्यक्तिगत सम्पतिको उदय यसको कारण रहेको तथा दास युगदेखि बर्गीय समाज देखिएको र समाजवादको विकासका क्रममा यस्ता खाले असमानताको अन्त्य हुदैजाने व्याख्या गर्दछन् । तथापी सामाजिक स्तरीकरण र विभेदका विभिन्न स्वरुपबारे फरक  फरक मत रहेका छन् । विभिन्न व्यवस्थाले समाजका सदस्यहरुलाई उच्च, निम्न, कमजोर, शक्तीशाली गरी तह तथा वर्गमा छुट्टाउने गर्दछ । यस्तै सामाजिक असमानता सृजना गर्ने एक प्रणाली जाती व्यवस्था हो । जाती व्यवस्था हिन्दू समाजमा मात्र पाइने असमान वर्गीकरण हो । यो अमानवीय छ, शोषण, विभेद, हिंसा, अत्याचारमा आधारीत छ । यसलाई हटाउन आवश्यक छ । त्यसका लागि यसबारे बुझ्न पनि उत्तिकै महत्वपुर्ण छ । कृषि सामाजिक जीवनको आधार मात्र होइन, बर्बरता र असमानताको पनि जग हो स्थायी बसोबासमात्र होइन सम्पुर्ण सामाजिक जटिलता, राज्य, सहर, अर्थतन्त्र, धर्मलगायतका सामाजिक प्रणालीहरुको आधार नै कृषि थियो । स्थायी बसोबासका लागि कृषिको सुरूवात् महत्वपुर्ण थियो । 


मध्यपुर्व एसियाको उर्भर क्रेसेन्ट भनिने इराक र आसपासको क्षेत्रमा लगभग ११५०० वर्ष अघि सरु भएको प्राणी तथा वनस्पतिको घरेलुकरणलाई सामाजिक जीवनको आधार मानिन्छ । कृषिको अभ्यासले ओढार, गुफा, जङ्गलमा ओत लागेर होइन अव कृषि गरेकै स्थानमा छाप्रो, झुपडी र थर्कुहरू बनाई बस्न थाले । स्थायी बसोबासले मानिसको परिवारको आकारमा परिवर्तन ल्यायो । विवाहको संरचनामा परिवर्तन ल्यायो । अनि विस्तारै गाउँ, टोल, समुदाय, वा सहरका संरचनाहरू बन्न थाले । बस्ती र सहरहरू नै सुरूको राज्यका आधारहरू बने । यसरी लगभग ८ हजार वर्षअघिबाट मानिस स्थायी रूपमा बस्ने, खेती गर्ने र राज्यमा बस्ने गर्न थाल्यो । व्यक्तिगत सम्पत्तिको उदय भयो । खासमा सामाजिक असमानता, विभेद, शोषण र दमनको आधार पनि कृषि नै हो । कृषिको विकाससँगै नीजि सम्पति, राज्य, परिवार, विवाह लगायतका संस्थाहरुको विकास हुनु नै सामाजिक असमानता र त्यसको संस्थागतकरणको आधार बन्यो । जाति, वर्ग, बासी, आप्रबासी आदि यहिबाटै सुरु हुन थालेका हुन् । तथापी यसको विकासक्रमको लामो इतिहास रहेको छ । राज्य सञ्चालनका लागि स्थानअनुसार विविध किसिमका शासनप्रणाली विकासित भए । धेरै समूह गणको रुपमा कविला राज्य बने तर केहीमा राजा महाराजाहरूको पनि विकास हुन थाल्यो । यसरी कृषिको विकासका कारण आदिम अवस्थामा रहेको मानव समाजमा विविध पक्षको विकासहँुदै गर्दा जटिल बन्न पुग्यो । राज्य र राजनीति, अर्थव्यवस्था, सेना, प्रहरी, प्रशासन, परिवार, विवाह लगायतका थुप्रै संस्था र सङ्गठनको यसै समयमा विकासक्रम भयो । राज्यको उत्पति र विकासक्रम राज्य तथा राजनीतिक संस्थाको विकासक्रमका विभिन्न चरणहरूबारे मानवशास्त्रीहरूले व्याख्या गर्दछन् । 


लगभग ८ हजार वर्ष अघि विश्वमा पहिलो शहरहरु देखा परे । तथापी राज्यको विकासक्रमका मुख्य चार चरणहरू रहेको व्याख्या गरिन्छ । झुण्ड (Band), कविला या यायावर(Tribes), मुखिया (Chiefdom), राज्य (State) । मानव पहिलो चरणमा झुण्डकै रूपमा रहे । त्यसबेला सामुहिकताको भावना र सामाजिक संस्थाहरूको समेत विकास भएको थिएन । आधुनिक मानवको उत्पतिपछिको समयमा सामान्य सांकेतिक भाषाको विकाससँगै लगभग एक लाख वर्ष अघि देखि उनीहरूमा सामुहिक अभ्यास र संजाल बन्यो । तर यहाँ सामाजिक असमानता र स्तरीकरणबिना नै समुहको नेतृत्वको प्रचलन रह्यो । धेरैले यी समुहहरु मातृप्रधान थियो भन्दछन् । यो अवस्था विकसीत हुँदै कविला समाजमा परिणत भयो । जब यी कविला समाजमा नेतृत्व जन्म वा वंशका आधारमा हुने तथा समाजमा व्यक्तिगत सम्पतिका कारण असमानताहरू सृजना भयो यसले वर्ग जन्मायो । अनि यही वर्गीय असमानतामा आधारित समाजको अवस्था मुखिया, सामन्त र शासकको रूपमा रहे । त्यसबाट विकसीत अवस्था राज्य हो । जनसंख्या, शासक, कानुन, भौगोलिक क्षेत्रको स्पष्टता हुँदै आजको राज्यको रुपमा विकसित भयो । राज्यको उत्पतिसँगै राज्यलाई व्यवस्थीत बनाउने विभीन्न प्रयासहरु भए । श्रम विभाजन, विभिन्न धार्मिक प्रचलन, सामाजिक व्यवस्था स्थापीत हुदै गए । दक्षीण एशियामा वर्णव्यवस्था पनि यतिबेला देखा परेको मानीन्छ । यहि वर्ण व्यवस्थामा विचलन र बहिष्करणहुँदा तथा राजनीतिक र धार्मिक बन्देजहरुसहित प्रथाको रुपमा जाती व्यवस्थाको उदय भयो । राज्य र व्यक्तिगत सम्पत्तिको धारणाको विकासपछि विस्तारै कृषिबाट अतिरिक्त उत्पादन सुरु भयो । यसले वस्तु विनिमय र व्यापार सुरु भयो । मुख्य गरी नाइल, येल्लो, इयुफ्रेटस, टिग्रिस, सिन्धु आदि नदीको किनारका सहरमा सभ्यता विकास भए । दक्षिण एसियामा गङ्गा किनारमा बस्ती वा सहर बस्यो । 


हालको इराक आसपास पर्ने मेसोपोटामिया विश्वको पहिलो ठुलो र व्यवस्थित सहर हो । त्यसपछि इजिप्टमा सभ्यताको विकास भयो । मेक्सिकोको माया सभ्यता, चिनको सभ्यता आदिको विकास हुँदै गयो । हरप्पा र महेन्जोदारो दक्षिण एसियाका पुराना सहर हुन् र यी सहर विश्वमा त्यतिबेला विकास भएका अन्य सहरभन्दा निकै उत्कृष्ट थिए । लगभग ५५०० वर्ष अघिदेखि ३५०० वर्ष अघिसम्म अस्तित्वमा रहेका ती सहर पछि ध्वस्त भएर गए । जातीय असमानताको परिचय जातीय व्यवस्था हिन्दू वर्णव्यवस्थामा आधारित पेसागत वर्गीकरणको विकृत रुप हो जसले जन्मजातरुपमा समाजका सदस्यलाई विभाजन गर्दछ । अत्यन्त कठोर यो सामाजिक विभेदीकरणले सबैभन्दा तल्लो वर्गका दलित/शुद्र भनिने समुदायलाई त अछुत वर्ग भनी धार्मिक र सार्वजनिक ठाउँ तथा माथिल्लो वर्गसँगको सामान्य हेलमेलमा पनि निषेध गर्दछ । अमानवीय शोषणकारी यही व्यवस्थाकै कारण दलित भनिने समुदाय आर्थिक, राजनीतिक तथा सामाजिक–सास्कृतिक रूपमा पछाडि परेकाछन् । यो प्रथा संसारभर होइन हिन्दू समाजमा मात्र पाइन्छ र यो जन्मका आधारमा निर्धारण हुन्छ । धन, सम्पति वा क्षमता वा योग्यताका आधारमा होइन । यसमा मुख्य जातिको निश्चित पेसा हुन्छ र खानपिन, विवाह आदिमा कठोर प्रतिबन्ध हुन्छ तर हरेक जातमा अनेक उपजातहरु पाइन्छन् । धेरैलाई थाहा छ कि जातीय व्यवस्था हिन्दू समाजभन्दा बाहेकका समाजमा पाइँदैन । विश्वमा पाइने रंगविभेद, इस्टेट तथा अन्य असमानताका रूपहरू जातीय व्यवस्थाभन्दा धेरै फरक छन् । थुप्रै पश्चिमी इतिहासविद्, पुरातत्वशास्त्री तथा मानवशास्त्रीले वर्ण र  जाति व्यवस्थाका बारेमा अध्ययन गरेका छन् । त्यसैले जाति व्यवस्थाको उत्पतिबारे अनेकन मत छन् । भारतीय समाजशास्त्री जि. एस्.गुर्ये, एम. एन. श्रीनिवास, राजनीतिशास्त्री अम्वेडकरमात्र होइन बाह्य मानवशास्त्री जेराल्ड वेरेमान र लुइस डुमोन्टका यससम्वन्धी अध्ययनले निकै समय चर्चा पाए । तर आजको ताजा बुझाइ फरक र समृद्ध छ । पुराना बुझाईमा परिवर्तन आएको छ । मतहरु बाझिएपनि जातीयव्यवस्थाको सुरुवात् भारतीय उपमहाद्वीपमा आर्यनहरूको प्रवेशपछि सुरु भएको अनुमान छ । लगभग ३५ सय वर्षअघि उत्तर एसिया र दक्षिणी यूरोपबाट बसाइ सरी यस उपमहाद्विपमा प्रवेश गरी द्रविडीयन, मङ्गोलीयन र अष्ट्रेलीयन प्रजातिलाई भुगोल र शासनबाट विस्थापन गर्दै आफ्नो आधिपत्य फैलाएका आर्यनहरूले नै समाजलाई स्तरीकृत गरेको मानिन्छ ।


  • जाति व्यवस्थाको उत्पत्ति सम्वन्धी मान्यताहरू

जाति व्यवस्थाको उत्पत्ति सम्वन्धी सिद्धान्तहरु र मान्यताहरू विविध छन् ।

  1. हिन्दू धर्मग्रन्थ ऋग्वेदका अनुसार आदि मानव पुरुषले आफ्नोे शरीरको ध्वंस गरी आफ्ना अङ्गहरू क्रमशः टाउको, हात, शरीर र खुट्टाबाट ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रको जन्म गरेको उल्लेख छ । यो धार्मिक ब्याख्या हो ।
  2. त्यसैगरी अर्को धार्मिक व्याख्याअनुसार मानिसको लक्षण र चरित्रअनुसार सत्व (ज्ञान, बुद्धि र विवेक)गुणका ब्राह्मण, राजा (आकाङ्क्षा, घमण्ड र सम्मान) गुणका क्षेत्री र वैश्य तथा तामा (मुर्ख र अल्छी) गुणका लागि शुद्र गरी विभाजन गरेको मान्दछ । यसले सत्व गुण श्वेत, राजा गुण रातो र तामा गुण कालो रङ्गको प्रतिक हो भनेका छन् । यसले रंगका आधारमा समेत विभाजन गर्न खोजेको व्याख्या गर्दछ । तर यी धार्मिक व्याख्याको बुझाई वैज्ञानिक होइन ।
  3.  जैविक सिद्धान्तले छालाको रङ्गको आधारमा सेतो, रातो, पहेँलो वर्णका लागि क्रमशः ब्राह्मण, क्षेत्री र वैश्य मानिएको ठान्दछ । खासमा वर्णको अर्थ पनि रंगको आधारमा गरिने वर्गीकरण बुझिन्छ भन्ने व्याख्या छ । साथै केही अनुवंशसम्वन्धी अध्ययनकर्ताले समेत अनुवंश र रङ्गका आधारमा यूरोपमा जस्तै ३ वर्णको प्रचलन आर्यनले मध्य एसियाबाट दक्षीण एसियामा भित्राएका र त्यसैको विकसीत रुप जाती व्यवस्था हो भन्ने तर्क छ । शुद्र जात भने केहि समय दक्षीण एशियामा बसोबास गर्दै जादाँ विकास भएको मान्दछन् । यहाँका कालो वर्णका मानिसका लागि शुद्र भनिएका यिनीहरूको तर्क छ । तर यो जैविक वर्ण व्यवस्थाको सिद्धान्त पनि हाल धेरैले अस्वीकार गरिसकेका छन् ।
  4. भाषिक तथा ऐतिहासिक तर्कहरूले भाषाका आधारमा जातिलाई वर्गीकरण गर्दछन् । आर्यनहरूको भाषा जर्मन, ग्रिक, ल्याटिन र सेल्टिक भाषासँग संस्कृत भाषाको समूह मिल्दछ । त्यसैले आर्यनहरुले नै आफ्नो जन वा समूहलाई उच्चस्थानमा राखी जातीय वर्गीकरण गरेको हुनसक्छ । लगभग सिन्धु सभ्यताको विनाश र आर्यहरूको आगमनलाई आजभन्दा ३५०० वर्षअघि मान्ने हो भने यस आधारमा कतिपयले आर्यहरूको आक्रमण र सभ्यताको ध्वंसको पनि कुरा गर्दछन् । तर हाल मेहेन्जोदारे र हरप्पा सभ्यता आर्यनहरुले बनाएको या ध्वस्त गरेको भन्ने तर्क गलत सिद्धभइसकेको छ । यो ड्रभिडियनहरुले बनाएका थिए ।
  5. सामाजिक ऐतिहासिक सिद्धान्तले आर्यनहरुको आगमन पछि उनीहरुले त्यहाँका रैथानेहरुलाई दक्षीण र उत्तर तर्फ विस्तापन गर्दै आफुहरुबीचमा राजकाज गर्ने क्षेत्रीय, धर्मकर्म गर्ने ब्रामण तथा कृषि, व्यापार र कलाकौशलका काम गर्नेलाई वैश्य गरी तिन भागमा विभाजन गरेको मान्दछ । पछि ब्रामण र क्षेत्रीको शक्तीसंघर्षमा ब्रामण उपल्लो जातमा परिणत भएको मान्दछ। तथापी मनुमृतिले ब्रामण र क्षेत्री वर्गको वर्गीय हीत एकआपसमा मिल्दा मात्र हुने कुरा स्पष्ट पारेको देखिन्छ । आर्यनहरुको स्थानीयसँगको अन्र्तघुलनबाट आएको पुस्ता, आर्यनले दासको रुपमा प्रयोग गरेका स्थानीय समूदाय तथा अन्य बाह्य समूह शुद्र जातीको रुपमा लिइएको व्याख्या छ । विस्तारै बाह्य समूदायको पेशा, शक्ती र हैसियत अनुसार उनीहरुलाई जाती व्यवस्थामा समाहित गरेको मानन्छि । तर पुरातात्विक अवशेषहरूले यसको समर्थन गर्दैन ।
  6. माक्र्सवादीहरु यसलाई स्वीकार गर्दैनन् । खासमा जात र वर्णमा भिन्नता छ । विश्वमा जनसंख्या बढ्दै जाँदा लगभग उस्तै समयमा समाजमा श्रम विभाजन आवश्यक भयो । युनान, चिन, ग्रीक सवैमा यस्तो श्रमसमूह देखियो । यहाँपनि यस्तै श्रम विभाजन भयो तर यहाँ विभाजनहुँदा या वर्ण व्यवस्था बन्दा यो बन्द व्यवस्था र अपरिवर्तनीय बन्न गयो । वर्ण व्यवस्था भनेको खासमा सुरुको वर्ग व्यवस्था हो भनिन्छ । तर वर्ण व्यवस्थामा विचलन र हस्तक्षेपहरु हुन थाले । शासक वर्गले आफ्नो अनुकुलका नियमहरु र बन्देजहरु थप्दै गए । वैश्य र शुद्र भित्र समेत विभिन्न पेशाका आधारमा जातहरुको विकास हुँदै गए । यसरी जव तल्लो वर्गको जीवन गरिवी, दमन, अपमान र अत्याचारमा बाच्न बाध्य भयो । त्यसको विरुद्ध संघर्ष र विद्रोह पनि हुन थाले । यस क्रममा निम्न मानीएका जातहरुलाई सार्वजनिक जीवनबाट वहिष्करण हुन थाल्यो । यसबाट छुवाछुतको प्रथा विकास भएको मानीन्छ । त्यसैगरी आर्यनहरुको आगमनले दक्षीण एशियामा दास युगको जन्म भयो । गैर आर्यहरुलाई तल्लो जात र दासको रुपमा परिणत गर्दै गए । साम्राज्यवादको चरणमा एक आर्य राज्यले अर्को आर्य राज्यमाथि आक्रमण गर्दै जाँदा हारेका आर्यहरुसमेत दासको रुपमा परिणत हुँदै गए । यसरी पंचम वर्णको रुपमा उत्पीडीत, उपेक्षीत समूहको रुपमा दलीतको सृजना भयो ।

हालका मानवशास्त्रीय, पुरातात्विक तथा आनुवंशिक सिद्धान्तहरूको निष्कर्ष नै आजको ताजा बुझाइ हो । यसले दक्षिण एसियामा आदिम समयदेखि बस्दै आएका आधुनिक मानवका समूहहरू, लगभग १०००० वर्षअघि कृषिको विस्तार गर्दै आइपुगेका मेसोपोटामिया आसपासका समूहहरू तथा पछिल्लो समय इरानी पर्वतीय क्षेत्रबाट पशुपालन गर्दै आइपुगेका आर्यहरूको समिश्रसण नै दक्षिण एसियाको जनसंख्या भएको र यहाँका सवै जातिहरूमा विभिन्न अवस्थामा ती तीनवटै समूहको अनुवंश भएको व्याख्या गर्दछन् । त्यसैले जाति व्यवस्था आर्य, द्रभिडियन र आदिमवासी कविलाहरूबीचको विशुद्ध विभाजन नभई अन्तर्घुलित र मिश्रित विभाजन हो । जातीय विविधता र वर्णाश्रम प्रथाका फरक फरक स्वरूपहरूले पनि यस्तै बुझाउँछ । (Boivin, 2007) नेपालमा तिब्बत बर्मेली भाषा समूहतथा मंगोल नश्लका समुदायको समेत मिश्रण रहेको छ । त्यसैले आजको ताजा बुझाई हामीले बुँदा ५ र ६ मा गरेको व्याख्याको नजिक छ । विश्वासिलो र ताजा व्याख्या संश्लेषणत्मक र संक्षीप्त रुपमा वर्ण भनेको श्रम समूह हो । वर्ण र जातीमा भिन्नता छ । वर्ण केवल चार छन् र यसको आधार रंग र पेशा हो । यसको सुरुवात् लगभग ३५०० देखि ३८०० वर्ष अघि आर्यनहरुको दक्षीण एशियामा बसाइसराइँपछि भयो । सुरुमा वर्ण व्यवस्थामा बन्देजहरु तथा अछुत प्रथा थिएन । लगभग २५०० वर्षपछि मात्र यसको विकास भयो । पछि पेशागत विभाजन जन्मजात र अपरीवर्तनीय बन्यो । यसले वर्णलाई जातको रुपमा विकास ग¥योे । सजिलै  बुझ्न सकिने कुरा के भने समाजमा श्रम विभाजनको सुरुवातसगै अत्यन्त कम संख्यामा रहेको ब्रामण, क्षेत्री र वैश्यले धर्म र राज्यसत्ताको आडमा बहुसंख्यक शुद्रमाथि शासन गर्न तथा उनीहरुलाई दबाउन विभिन्न किसीमका बन्देजहरु लगाउँदै गए । पेशाको परिवर्तनलाई मनुस्मृतिले अपराधको संज्ञा दिएको छ । यसरी वर्ण कठोर बन्दै गयो । श्रमविभाजनको क्रममा जम्मा चार वर्ण वा श्रम समूह मध्ये सेवा र सिपमुलक कार्य, भौतिक विज्ञानका कार्य, संगित, सूचना वा कटुवालका काम गर्नेहरुलाई शुद्र वर्गमा राखीयो । यस क्रममा पछिमात्र अछुत प्रथा देखियो । छुवाछुत सम्वन्धी विभिन्न सिद्धान्तहरु छन् त्यसमा विवाह उलंघन, धर्मको उल्लंघन, रोगका आधारमा, खानपानका आधारमा वा सामाजिक वहिष्करणको व्याख्या रहेका छन् । सायद धर्म र राज्यका आडमा नीति नियमहरु थुपार्दै जाँदा तल्लो वर्गमा दमन हुन थाल्यो । त्यही विद्रोह रोक्न थप कठोर र छुवाछुतसम्वन्धी बन्देज लगाइए । साथै स्थायी जेल, सेना, कानुन वा अन्य संरचना विकास नभएको परिपेक्षमा छुद्रबाट विद्रोह गर्नेहरुलाई सामाजिक बहिष्करण गर्न थालीयो । यसरी विद्रोहीहरु, दास, बाह्य समूह लगायतका समूहलाई पंचमवर्णको रुपमा दलीत भनिएको हो भन्ने व्याख्या पनि छ । ३५०० वर्ष अघि सुरु भएको जातीव्यवस्था २५०० वर्ष अघि तिर  अछुत प्रथाको विकाससँगै नेपाल भित्रियो । नश्ल, रंगभेद तथा दक्षिण एसियामा आधुनिक मानव बसाइँसराइँ अहिले विश्वभर मानवको एकमात्र प्रजाती अस्तित्वमा छ । यो आधुनिक मानव होमो सेपियन्स हो । यही आधुनिक मानव अफ्रिका महादेशमा उद्विकास भएर संसारभर फैलिएको हो । यस अर्थमा हामी सजिलै बुझ्न सक्छौँ कि आज संसारका मानवहरूमा पाइने विविधता यही लगभग १ लाख वर्षको मानव बसाइँसराइँ, निरन्तर अनुवंशमा हुने परिवर्तन र उत्परिवर्तन, पर्यावरण र अनुकुलनको प्रक्रियामा हुने समायोजन तथा जनसंख्याहरूबीचको आपसी घुलन र पृथकता (अलगाव) आदीका कारण देखिएको हो । आज पनि यस्तो शारीरिक विशेषतामा पाइने विविधतालाई आधार बनाई रङ्गभेद तथा वर्णविभेदको रूपमा मानिसलाई भेदभाव गर्दछन् । मानव नश्ल वा रङ्गलाई सामाजिक असमानताको जड बनाएका छन् । तर आजका आधुनिक मानव उद्विकासका मान्यता र मानव विविधतासम्वन्धी सम्पुर्ण अध्ययनले मानिसहरू किन समान हुन्छन् र कसरी भिन्न भिन्न शारीरिक रुपमा विकास भए भन्ने स्पष्ट व्याख्या गरेको छ । त्यसैले आज संसारका सवैखाले असमानता र विभेदका स्वरुप मानव समाजले सृजना गरेको तथा मानवीय शारिरिक भिन्नता उद्विकासको क्रममा देखापरेको व्याख्या छ ।


दक्षिण एसिया र नेपालमा हाल रहेको मानव सम्प्रदाय तथा वर्ण (अंग्रेजिमा रेस) को आगमन र बसोबासको अवस्था विशेष किसिमको देखिन्छ । भर्खरै गरिएका आनुवंशिक खोज, भाषिक तथा पुरातात्विक प्रमाणका आधारमा दक्षिण एसियाको मानव इतिहासको पुरानो व्याख्या तथा तर्कमा हलचल ल्याएको छ । अब लगभग सबै खोजले हरप्पा र मोहन्जोदारो लगायतका दक्षिण एसियाको सिन्धूघाँटी सभ्यता आर्यहरूले बनाएको भन्ने तर्क निराधार र गलत भएको सिद्ध गरेको छ । त्यसैगरी अर्को तर्कको रुपमा दक्षिण एसियाको सभ्यता बनिसकेको समयमा आर्यहरूले आक्रमण गरी सभ्यता ढलेको भन्ने मान्यता पनि गलत सिद्ध भएको छ । हाल भारत र प७त्रगयतसरै दक्षिण एसियामा मिश्रित खालको वंशाणुगत जनसंख्या छ । आनुवंशिक रूपमा शुद्ध नभई एकअर्कामा मिसिएका वंशहरू छन् । मुख्य गरी दक्षिण एसियामा तीन खालको जनसंख्याको अन्तर्घुलन पाइन्छ । यो आनुवंशिक नतिजा पहिलेका ऐतिहासिक र भाषिकसँग मिल्दछ । पहिलादेखि नै आधुनिक मानवको बसाइँसराइँबाट आइपुगी यस क्षेत्रमा बसोवास गर्दै आएका आदिम घुमन्ते सिकार गर्ने तथा बटुल्ने समूदाय एक समूदाय थिए । दक्षिण एसियामा पहिलो बसाइँसराइँ लगभग मेसोपोटामियाकै समयमा खेती गर्न थालेका इरानी समूदायहरूको भयो । गहुँ, जौं जस्ता बालीको खेतीको अभ्यास लिएर यी इरानी कृषक सिन्धूघाँटीमा प्रवेश गरे । यिनीहरू विस्तारै त्यहाँको जनसंख्यासँग मिसिन पनि थाले । यही क्रममा सिन्धूघाँटी सभ्यताको जग बसेको मानिन्छ । यो दोस्रो समूह हो । जसलाई हामी हाल अष्ट्रोद्रभिडियन भाषिक परिवारअन्तर्गत राख्दछौँ ।


लगभग ४००० वर्षअघि ककस पहाडी क्षेत्रको उत्तर तथा अफगानिस्तान पश्चिमको यूरेसियन क्षेत्रको पर्वतीय घाँसे मैदानबाट फेरि अर्को समूह दक्षिण एसिया आइपुग्यो । यिनीहरू भारोपेली भाषिक समूहका मानिस थिए । यसै समूहलाई आर्यइरानेली मानिन्छ । यसैको एक आर्य समूह भारतीय भूमितिर आइपुग्यो । वेदका रचयिताहरू यिनै आर्य मानिन्छन् जसको भाषा संस्कृत थियो ।


विशिष्ट मानिने यो आर्य जातिले हिन्दू धर्म सृजना गरी आफुलाई उच्च स्थानमा राखेको आजको तथ्य छ । नेपालको इतिहास भने फरक छ । हामीसँग मानव वंश र नश्लसँग सम्वन्धित भाषिक, पुरातात्विक, अवशेष शास्त्रीय साथै आधुनिक आनुवंशिक अध्ययन र प्रमाणको अभाव छ । हामी गोपाल र महिशपालहरू को थिए भन्नेमा अझै परिकल्पना र तर्ककै आधारमा मधेसका यादवहरु भन्दछौँ । राई र लिम्वू नै मङ्गोलबाट आएका किरात भनिएको छ । खसहरू पनि यूरेसियाली पर्वतीय घाँसे मैदानबाट पशुपालन गर्दै आएका आर्य हुन् भन्ने छ । तर यस सम्वन्धी प्रयाप्त आनुवंशिक अध्ययन छैन । मानव इतिहास राजनीति र शक्तिको पनि एक खेलको क्षेत्र हो । त्यसैले हामी लगभग सबै तिब्बतीय वा भोट चिनियाँ भाषा वोल्नेहरू उत्तरबाट र भारोपेली भाषिक परिवार अन्तर्गतका भाषा बोल्नेहरू दक्षिणबाट बसाइँ सरेको तथा केहि पहाडीया जनजाती र मधेसीहरु रैथाने भन्ने तर्क गर्नुपुर्व विज्ञानको खोज र विधिमा भर पर्नु पर्दछ । भर्खरै पनि नेपालका खसहरू इरान र बेविलोनियामा कश वंश थिएनन् बरू चिनको पर्वतीय क्षेत्रबाट आएका हुन् भन्ने व्याख्या अगाडि आएको छ । यसो हो भने ब्राह्मण इरानी स्टेपका चरिचरन गर्ने तथा क्षेत्री र खसहरू इरानी खेती गर्ने समूदाय भनी कतिपय भारतीयले भनेका कुरा सत्य नहुन सक्छन् । नेपालको मानवशास्त्रको विकाससँगै कुन कुन समूदाय कुन कुन भूभागबाट र कहिले आएका थिए भन्ने अध्ययनले वैज्ञानिकता पाउने तथा बसाईँसराइँ र नेपालकै इतिहासको ताजा वैज्ञानिक तथ्यहरू छिट्टै हाम्रो सामु हुने आशा गरौँ ।

***

Author: प्रमेश पोखरेल


Labels: ,

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home